चितवन । चितवनमा आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो सातामै एक जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। यद्यपि यस अवधिमा डेंगुका कुनै पनि संक्रमित फेला नपरेको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ। वर्षायामसँगै यी रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्यकर्मीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भरतपुर महानगरपालिकाकी एक महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। हालसम्म जिल्लामा डेंगुका संक्रमितको संख्या शून्य रहेको छ भने स्क्रब टाइफसका नौ जना संक्रमित अभिलेखमा रहेका छन्। तीमध्ये एक जना चितवनका स्थानीय बासिन्दा हुन् भने आठ जना अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी रहेका छन्।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुआती अवधिसम्म डेंगुको ५२ जना र स्क्रब टाइफसको ७८ जनाको परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिमध्ये एक जनामा मात्र स्क्रब टाइफस पुष्टि भएको हो। हालसम्म दुवै रोगका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको निरीक्षक केसीले जानकारी दिनुभयो।
गत आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क हेर्दा चितवनमा डेंगु र स्क्रब टाइफस दुवै रोगका संक्रमित उल्लेख्य संख्यामा भेटिएका थिए। कार्यालयका अनुसार जिल्लाका २१६ जनामा डेंगु र ६२१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत समावेश गर्दा डेंगुका कुल २७४ र स्क्रब टाइफसका ८९३ संक्रमित अभिलेखमा रहेका थिए।
स्थानीय तहगत विवरणअनुसार गत वर्ष सबैभन्दा बढी डेंगु संक्रमित रत्ननगर नगरपालिकामा ८७ जना फेला परेका थिए। त्यसपछि भरतपुर महानगरपालिकामा ५६ जना संक्रमित भेटिएका थिए। स्क्रब टाइफस संक्रमणको अवस्था पनि रत्ननगरमै सबैभन्दा बढी देखिएको थियो, जहाँ २४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि खैरहनी नगरपालिकामा ११७ जना र भरतपुर महानगरपालिकामा ९० जना संक्रमित अभिलेखमा रहेका थिए।
गत आर्थिक वर्षभर जिल्लामा डेंगुको १० हजार ५२३ र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितको संख्या उल्लेख्य भए पनि समयमै परीक्षण, उपचार तथा निगरानीका कारण दुवै रोगबाट चितवनमा कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
वर्षायाममा लामखुट्टेको वृद्धि तथा झाडी–बुट्यानमा हुने गतिविधिका कारण डेंगु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले स्वास्थ्य अधिकारीहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। घर वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुल वा रिपेलेन्ट प्रयोग गर्ने, झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाक्ने कपडा लगाउने तथा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, कमजोरी वा अन्य शंकास्पद लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन निरीक्षक केसीले अनुरोध गर्नुभएको छ।








