इटहरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन मङ्गलबार जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास भइरहेको छ । सो घटनाबारे गठित छानबिन समितिले मङ्गलबारदेखि छानबिनको काम सुरु गरेको छ ।
जिल्लाका केही स्थानमा मङ्गलबार पनि कफ्र्यु जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ ।
सुनसरीको दुहबी, पकलीलगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना गरेका छन् । केही स्थानमा भने कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटनासमेत भएको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कफ्र्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ । त्यस्तै हरिनगर, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा कफ्र्यु जारी छ । इनरुवाको चोक चोकमा कफ्र्यु आदेशका बिच प्रदर्शन भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।








