चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र दक्ष जनशक्तिको अभावका कारण क्यान्सर बिरामीले केमोथेरापी सेवा लिन पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। अस्पतालमा दैनिक करिब ३०० जना बिरामी केमोका लागि आउने भए पनि उपलब्ध स्रोत–साधनका कारण दैनिक करिब २०० जनालाई मात्र सेवा दिन सकिएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा केमोथेरापीका लागि १५० शय्या छुट्याइएका छन्। केही बिरामीलाई छोटो समयमै उपचार सकेर घर पठाउन सकिने भएकाले एउटै शय्यामा क्रमशः अन्य बिरामीलाई पनि सेवा दिइन्छ। तर बिरामीको अत्यधिक चापका कारण तोकिएको समयमा उपचार गर्न कठिनाइ भइरहेको छ।
मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार केमोथेरापी निर्धारित समयमा दिन सके उपचार प्रभावकारी हुन्छ। तर शय्या र जनशक्तिको अभावले धेरै बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको छ, जसले उपचारको प्रभावकारितामा असर पुर्याउन सक्छ। उहाँले प्रादेशिक अस्पतालहरूमा पनि केमो सेवा विस्तार गर्न वा हालको अस्पतालमा थप शय्या र जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अस्पतालले एकपटक केमो चढाएबापत रु ५०० सेवा शुल्क लिने गरेको छ भने औषधि भने अस्पतालकै फार्मेसीबाट छुट्टै खरिद गर्नुपर्छ। बिरामीको रोगको अवस्था र प्रयोग हुने औषधिको प्रकारअनुसार केमोको लागत रु १०० देखि लाखौँ रुपैयाँसम्म पुग्न सक्छ। सामान्यतया बिरामीलाई दुई हप्ताको अन्तरमा १२ पटक वा तीन हप्ताको अन्तरमा छ पटकसम्म केमो दिइन्छ भने केही बिरामीले तीन वर्षसम्म पनि नियमित उपचार गराउनुपर्ने हुन्छ।
नेपालका विभिन्न जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। तर लामो समय पालो कुर्नुपर्ने बाध्यताका कारण धेरै बिरामी निजी अस्पताल वा भारत तथा काठमाडौंका अन्य स्वास्थ्य संस्थातर्फ जान बाध्य भएका छन्।
यसैबीच, चितवन मेडिकल कलेजअन्तर्गतको सीएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालसरह शुल्कमा केमोथेरापीसहित क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार सरकारी अस्पतालमा पालो नपाएका बिरामीसमेत यहाँ उपचारका लागि आउने गरेका छन्। पछिल्लो समय बिरामीको संख्या निरन्तर बढ्दै गएको इन्स्टिच्युटले जनाएको छ।








