चितवन । चितवनको धार्मिक तथा ऐतिहासिक स्थल देवघाटमा निर्माण सम्पन्न भएको विद्युतीय शवदाहगृह सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन गरिने भएको छ। सञ्चालन खर्च उच्च हुने भएकाले भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा सेवा सञ्चालन गर्ने तयारी गरेको हो।
सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको शवदाहगृह आज औपचारिक रूपमा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। महानगरपालिकाले सार्वजनिक–निजी साझेदारी ढाँचाअनुसार सञ्चालन गर्न आवश्यक कार्यविधिसमेत तयार गरिसकेको जनाएको छ।
करिब सात वर्षअघि निर्माण सुरु भएको विद्युतीय शवदाहगृहको काम हालै सम्पन्न भएको हो। शवदाहगृहमा एकै समयमा सेवा दिन सक्ने गरी दुईवटा आधुनिक विद्युतीय शवदाह मेसिन जडान गरिएको छ। सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ को लागतमा उक्त संरचना निर्माण गरेको हो।
देवघाट धार्मिक आस्थाको केन्द्र भएकाले चितवन, नवलपरासी, तनहुँलगायत देशका विभिन्न जिल्लाबाट अन्त्येष्टिका लागि दैनिक शव ल्याइने गरिन्छ। परम्परागत रूपमा दाउराको प्रयोग गरेर अन्त्येष्टि गरिँदै आए पनि दाउराको अभाव र व्यवस्थापनमा देखिएका चुनौतीका कारण विद्युतीय शवदाहगृह निर्माणलाई महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
विद्युतीय शवदाहगृह सञ्चालनमा आएपछि वातावरणमैत्री, छिटो र व्यवस्थित अन्त्येष्टि सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै, बेवारिसे शवको सम्मानजनक अन्त्येष्टि गर्न पनि यसले ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा सेवा प्रभावकारी, व्यवस्थित र दिगो बनाउने लक्ष्य राखेको जनाएको छ। स्थानीयवासी तथा सेवाग्राहीले पनि नयाँ शवदाहगृह सञ्चालनमा आएपछि देवघाटमा अन्त्येष्टि व्यवस्थापन थप सहज र आधुनिक बन्ने अपेक्षा गरेका छन्।








