चितवन । मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढ्दै गएपछि डिभिजन वन कार्यालय चितवनले निगरानीलाई थप प्रभावकारी बनाएको छ। वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने क्रम बढेपछि कार्यालयले विभिन्न संवेदनशील स्थानमा क्यामरा जडान गर्नुका साथै आवश्यक स्थानमा खोर राखेर अनुगमन सुरु गरेको जनाएको छ।
वन अधिकृत सुदीप हमालका अनुसार मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको गतिविधि पहिचान गर्न तथा आवश्यक परे नियन्त्रणमा लिन क्यामरा र खोरको व्यवस्थापन गरिएको हो। भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा क्यामरासहित खोर राखिएको छ भने त्यस नजिकैको बाँसझ्याङ क्षेत्रमा पनि अर्को निगरानी क्यामरा जडान गरिएको छ।
यसै क्रममा पोल्ट्री परिसरमा राखिएको खोरमा परेको चितुवाको बच्चालाई सुरक्षित रूपमा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको वन कार्यालयले जनाएको छ। खोरमा बच्चा परेको समय क्यामरामा माउ चितुवा र अर्को बच्चा खोर बाहिर बसेको दृश्य कैद भएको थियो। त्यसपछि सो क्षेत्रमा रहेको झाडी सफा गरिएपछि माउ चितुवा र अर्को बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरतर्फ गएको अनुमान गरिएको छ।
वन कार्यालयका अनुसार पछिल्लो समय विश्वविद्यालय परिसरमा पनि चितुवा देखिने सम्भावना बढेकाले त्यहाँ समेत क्यामरा र खोर राखेर नियमित अनुगमन भइरहेको छ। वन्यजन्तुको गतिविधि निरन्तर निगरानीमा राख्दै आवश्यक परे उद्धार तथा व्यवस्थापनको तयारी गरिएको कार्यालयले जनाएको छ।
यस्तै, भरतपुर महानगरपालिका–११ को आँपटारीस्थित विद्युत् स्टेशन क्षेत्रमा केही दिनअघि बाघ देखिएको सूचना प्राप्त भएपछि त्यहाँ पनि निगरानी क्यामरा जडान गरिएको छ। स्थानीयका अनुसार बाघले एक घरपालुवा बाख्रालाई आक्रमण गरी मारेपछि वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनको ध्यान त्यस क्षेत्रमा केन्द्रित भएको हो।
बाघले बाख्रा मारेको घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयको टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि विद्युत् स्टेशनको प्रवेशद्वार र परिसरभित्र क्यामरा जडान गरी बाघको गतिविधि निरन्तर निगरानीमा राखिएको छ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले हाल तीनवटै संवेदनशील क्षेत्रमा क्यामरा र खोरको व्यवस्था गरिएको जानकारी दिँदै बाघ वा चितुवा खोरमा परे तत्काल उद्धार गर्ने तयारी अवस्थामा टोली राखिएको बताउनुभयो।
वन्यजन्तु विज्ञहरूका अनुसार बच्चा हुर्काउने समयमा वा शारीरिक रूपमा कमजोर भएका बाघ र चितुवा सुरक्षित स्थानको खोजीमा जङ्गल बाहिर निस्कने सम्भावना बढी हुन्छ। जङ्गलभित्र अन्य जनावरबाट बच्चालाई जोखिम हुन सक्ने तथा पर्याप्त सिकार नपाउँदा उनीहरू मानव बस्ती नजिक पुग्ने गरेका हुन्। यस्ता अवस्थामा घरपालुवा जनावर सहज सिकार बन्ने भएकाले बाघ र चितुवाले बाख्रा, बाछा तथा अन्य पशु चौपायामाथि आक्रमण गर्ने घटना दोहोरिने गरेको विज्ञहरूको भनाइ छ। त्यसैले वन कार्यालयले स्थानीयलाई सतर्क रहन, वन्यजन्तु देखिए तत्काल सूचना दिन तथा अनावश्यक रूपमा नजिक नजान आग्रह गरेको छ।








