चितवन । चितवनको खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा सोमबार बिहान महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका एक पुरुषलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल, भरतपुर पठाइएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले चेकजाँच गर्दा उनलाई बिहान ३ः१५ बजे मृत घोषणा गरेका थिए।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक करिब ३० देखि ३५ वर्ष उमेरका देखिने पुरुष हुन्। प्रहरीले मृतकको पहिचान खुलाउने तथा परिवारका सदस्यसम्म पुग्ने प्रयास गरिरहेको जनाएको छ।
घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।








