पश्चिम नवलपरासीको सुस्तामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन् । समस्याको समाधान तथा सुस्तावासीको सुरक्षाका लागि तीनवटै तहका सरकार तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालन भएका छन् ।
नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आफैँ सुस्ता पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मुख्यमन्त्री आचार्यले सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, नदी कटानको जोखिम बढ्दै गएपछि संघीय सांसद विक्रम खनालले समस्या समाधानका लागि संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ ।
सांसद खनालका अनुसार कटान रोक्न तत्कालीन तथा दीर्घकालीन उपायका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयसँग छलफल भइरहेको छ । संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियाले पनि सुस्ता पुगेर कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले सुस्ता बचाउन बजेटको अभाव हुन नदिने र आवश्यक बजेट विभागले नै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सम्भावित ठुलो क्षति हुन नदिन स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको बताउनुभयो ।








