चितवन । राप्ती नगरपालिका–१, डिपाट बस्तीमा आइतबार प्रवेश गरेको बाघले आक्रमण गर्दा ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। राप्ती नगरपालिका–१ निवासी अधिकारीलाई बाघले आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बस्तीमै पसेको बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा बाँधेर राखिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। आक्रमणबाट गाई सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
मानिस र पशुमाथि बाघले आक्रमण गरेपछि स्थानीयमा त्रास बढेको थियो। बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको थियो। टोलीले बस्ती आसपासका क्षेत्रमा बाघको खोजी गर्दै नियन्त्रण अभियान सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निकुञ्जको टोलीले आइतबार बिहान करिब १०ः३० बजे बाघलाई नियन्त्रणमा लिन सफल भएको हो। बाघ नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दामा देखिएको त्रास केही कम भएको छ।
घटनापछि स्थानीय प्रशासन, प्रहरी र चितवन राष्ट्रिय निकुञ्जले बस्ती आसपासका क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, जंगली जनावरको गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन स्थानीयवासीलाई अनुरोध गरिएको छ।
मानव बस्ती आसपास वन्यजन्तुको आवतजावत बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन तथा राति एक्लै हिँडडुल नगर्नसमेत आग्रह गरिएको छ।








