काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार सात जना पदाधिकारी मनोनयन गरे। पार्टीका विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्यको जिम्मेवारी पनि बाँडियो। तर, पदाधिकारीमध्ये पनि महत्वपूर्ण मानिएको उपसभापति र महामन्त्री पदमा भने उनले निर्णय गरेनन्। जबकि यी दुवै पदमा नेताहरुको मनोनयन सभापति रविका लागि मात्र होइन, प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहका लागि पनि अत्यावश्यक छ।
किनकि, पार्टी र सरकारबीच समन्वय नहुँदा कतिपय निर्णय प्रक्रियाले रवि र बालेनबीच दूरी बढ्ने जोखिम छ। यी दुई पदका दाबेदार पनि सार्वजनिक भइसकेका छन्। यी पद प्रधानमन्त्री शाहको समूहका लागि छुट्याएको पनि स्पष्टै छ। त्यसैले रास्वपाको केन्द्रीय समितिको बैठकमा धेरैजसो नेताहरूको ध्यान यिनै दुई पदमा थियो। तर, लगभग सबैजसो पदाधिकारी मनोनयन गर्दा दुई पद किन रिक्त राखियो त? रास्वपा नेताहरु पूर्वसहमति अनुसार बालेनले अझैसम्म यी दुई पदमा नाम दिन नसकेको बताउँछन्। रवि सोही नामको पर्खाइमा छन्। बालेन समूहले नाम निश्चित नगर्दा दुई पद रिक्त राख्न परेको नेताहरूको भनाइ छ। उपसभापतिमा सुनिल लम्साललाई अघि सार्ने बालेनको चाहना थियो। तर, गृहमन्त्री समेत रहेका सुधन गुरुङले पनि सोही पदमा दाबी गरेका छन्।
पछिल्ला दिन सभापति रवि र प्रधानमन्त्री बालेनसँग मिलेर काम गरेको भन्दै उनले पार्टीमा उपयुक्त जिम्मेवारी दिनुपर्ने बताएका छन्। यस्तै, महामन्त्रीमा भूपदेव शाहलाई नै अगाडि बढाउने तयारी छ। यद्यपि, सुदीप ढकाल पनि त्यसका दाबेदार छन्। शुक्रबार गुरुङ, लम्साल र भूपदेव शाह केन्द्रीय सदस्य मनोनीत भए। रास्वपा महामन्त्री विपिन आचार्यले उपसभापति, महामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी रहेको बताए।








