चितवन । संघीय भरतपुर अस्पतालले वैशाखदेखि साउन मसान्तसम्मको चार महिनामा दुई लाख ५० हजार ४०६ जना बिरामीलाई सेवा दिएको छ । अस्पतालले वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म रहेका ८५ कार्यदिनमा दुई लाख ५० हजार बढी बिरामीलाई सेवा दिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेका अनुसार चार महिनाको अवधिमा बहिरंग सेवा (ओपिडी) लिनेको संख्या दुई लाख १० हजार ८३९ रहेको छ । आकस्मिक कक्षमा १० हजार ८९० जना बिरामीले सेवा लिएको र २८ हजार ६७७ जनाले भर्ना भएर सेवा लिएको डा. बगालेले बताउनुभयो । डा. बगालेले कान्तिपुर हेल्सँग भन्नुभयो “वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म जम्मा ८५ कार्यदिन थियो, यस अवधिमा हामीले दुई लाख ५० हजार बढी बिरामीलाई सेवा दिएका छौं ।”
वैशाख महिनाका २३ कार्यदिनमा ५६ हजार ४३८ जना, जेठ महिनाका २० कार्यदिनमा ६१ हजार १६ जना, असारका २२ कार्यदिनमा ६६ हजार ३८८ जना, साउनको २० कार्यदिनमा ६६ हजार ५६४ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । यसैगरी वैशाखदेखि साउन मसान्तसम्म तीन हजार ६२९ जनाले शल्यक्रिया सेवा लिएका छन् । जस अन्तर्गत वैशाखमा ७८१ जना, जेठमा ९१७ जना, असारमा ९८१ जना र साउनमा ९५० जनाको शल्यक्रिया भएको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बगालेले बताउनुभयो । शल्यक्रिया सेवा अन्तर्गत सबैभन्दा बढी प्रसुती सेवाका रहेका छन् । यस अवधिमा ७७६ जनाको शल्यक्रिया मार्फत् शिशुको जन्म गराईको छ । वैशाखमा १५२ जना, जेठमा २०९ जना, असारमा १९९ जना र साउनमा २१६ जनाको शल्यक्रिया विधि मार्फत् प्रसुती गराईएको हो । उहाँका अनुसार यस अवधिमा दुई हजार ८४५ जनाले सिटी स्क्यान सेवा लिएका छन् भने दुई हजार २२२ जनाले एमआरआई सेवा लिएका छन् । अल्टासाउण्ड सेवा लिनेको संख्या ३६ हजार रहेको छ ।
यसैबीच अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि बिलिङ काउन्टरको संख्या बढाईएको छ । अस्पतालले दुई वटा काउन्टर थप गरी १० पु¥याएको छ । बिलिङ काउन्टरमा अत्याधिक भिड भएपछि काउन्टर बढाईएको बगालेको भनाई छ । यस्तै अस्पतालको प्रयोगशाला रिपोर्ट पनि अनलाईनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरिएको छ । अस्पतालको बेभसाईडमा गएर ‘ल्याब रिपोर्ट’ मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने ठाउँ आउँछ । उक्त ठाउँमा पैसा तिर्दा लिएको बिलमा नै युजरनेम र पासवर्ड दिईएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरेपछि आफ्नो प्रयोगशाला रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको मेसु डा. बगाले बताउनुहुन्छ । यसैगरी अस्पतालमा भएका दुई वटा भेन्डिङ मेसिनबाट पनि बहिरंग (ओपिड) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने गरी विकास गरिएको उहाँको भनाई छ । अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजार आठ सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गर्दछन् ।
सेवा सुविधामा सुधार गरेसँगै बिरामीको चाप पनि थपिंदै गएको डा. बगाले बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले सेवामा जति सुधार गर्दै गयौं, त्यति नै बिरामीको चाप थपिंदै गएको छ । निजी अस्पताल जाने बिरामी पनि सरकारीमा आउन थालेका छन् ।” अन्य निजी अस्पतालमा जाने बिरामी सरकारीमा सेवा सहज भएपछि थपिंदै जाँदा जति सुधार गर्दा पनि भिड देखिने गरेको उहाँको भनाई छ । ६२० शैया सञ्चालनमा रहेको यस अस्पतालमा चितवन सहित छिमेकी २५ जिल्लाका बिरामी सेवा लिन आउने गर्दछन् । भरतपुर अस्पताल स्वास्थ्य बीमा मार्फत् सेवा दिनमा पनि अग्रणी अस्पतालका रुपमा रहेको छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजहरुमा स्वास्थ्य बीमाको सेवा बन्द गरेपछि यहाँ बीमा मार्फत् उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ ।








