चितवन । भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखत गर्न चितवनमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियानअन्तर्गत पाँच दिनमा ६८ जनाको नमुना संकलन गरिएको छ। बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तबाट नमुना संकलन गरी शव पहिचानको प्रक्रिया अघि बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिचान गर्न कठिन भएका शवहरूको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रहरीले सञ्चालन गरेको अभियानमा बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्त तथा सम्भावित परिवारजनबाट डीएनए नमुना लिइएको हो।
प्रहरीका अनुसार भदौ १६ गते सात जना पुरुषको डीएनए नमुना संकलन गरिएको थियो। त्यसैगरी भदौ १७ गते दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष गरी २६ जनाको नमुना लिइएको थियो।
भदौ १८ गते चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष गरी २२ जनाको नमुना संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार एक महिला, चार पुरुष र एक भारतीय पुरुष गरी सात जनाको नमुना संकलन गरिएको थियो।
त्यस्तै, शनिबार दुई महिला, एक पुरुष र तीन बालक गरी थप छ जनाको डीएनए नमुना संकलन गरिएको छ। यससँगै पाँच दिनको अवधिमा संकलन गरिएको नमुनाको संख्या ६८ पुगेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवका अनुसार बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तबाट नमुना संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको छ। पहिचान हुन नसकेका शवको सनाखत गरी परिवारलाई बुझाउने उद्देश्यले डीएनए परीक्षणलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको उनले बताए।
चितवनमा संकलन गरिएका डीएनए नमुना विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको शाखा भैरहवामा पठाउने गरिएको प्रहरीले जनाएको छ। प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनका आधारमा पहिचान खुल्न नसकेका शव र बेपत्ता व्यक्तिका परिवारबीच जैविक सम्बन्ध पुष्टि गर्ने प्रक्रिया अघि बढाइनेछ।
बाढीपछि विभिन्न स्थानमा फेला परेका शवमध्ये कतिपयको अवस्था बिग्रिएका कारण प्रत्यक्ष पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। यस्तो अवस्थामा डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया महत्वपूर्ण बनेको छ। प्रहरीले बेपत्ता व्यक्तिका परिवार तथा आफन्तलाई आवश्यक समन्वय गरी नमुना संकलन अभियानमा सहभागी हुन आग्रह गरेको छ।








