चितवन । आरम्भ कलेजले स्नातक तह पहिलो सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथो पटक जिल्लामै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कलेजका विद्यार्थीहरूले बि.एच.एम. (BHM) र बि.आइ.टी.एम. (BITM) दुवै कार्यक्रममा उत्कृष्ट जिपिए हासिल गर्दै चितवन टपरको उपाधि कायम राखेका हुन्।
सार्वजनिक नतिजाअनुसार बि.एच.एम.तर्फ आरम्भ कलेजका विद्यार्थीले ३.९२ जिपिए तथा बि.आइ.टी.एम.तर्फ ३.९५ जिपिए प्राप्त गरेका छन्। दुवै कार्यक्रममा प्राप्त यो उत्कृष्ट नतिजाले कलेजलाई लगातार चौथो पटक जिल्लाको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ। यसैबीच, कलेजकी छात्रा सुहानाले ३.९५ जिपिए प्राप्त गर्दै देशभरको समग्र नतिजामा पाँचौँ स्थान हासिल गरेकी छन्।
कलेजको चौथो ब्याचको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको निरन्तर मेहनत र उपलब्धिप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले जिल्ला टपर बन्नुका साथै राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्नु चितवनका लागि समेत गौरवको विषय भएको बताउनुभयो।
“हाम्रा विद्यार्थीहरूले निरन्तर मेहनत र लगनशीलताका साथ कलेजलाई चौथो पटक चितवन टपर बनाएका छन्। नेपालभर पाँचौँ स्थान हासिल गर्नु सिङ्गो चितवनवासीका लागि गौरवको विषय हो,” उहाँले भन्नुभयो।
प्राचार्य शिवाकोटीका अनुसार पछिल्लो नतिजाले गुणस्तरीय उच्च शिक्षाका लागि काठमाडौँ वा विदेश नै जानुपर्ने सोचलाई समेत चुनौती दिएको छ। उहाँले आरम्भ कलेजले चितवनमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर कायम गर्न सफल भएको दाबी गर्नुभयो।
चौथो ब्याचका नयाँ विद्यार्थीलाई स्वागत गर्दै उहाँले अग्रज विद्यार्थीहरूले स्थापित गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै, विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिनुभयो।








