चितवन । नेपाली कांग्रेसको संगठन निर्माणमा विद्यार्थी जीवनदेखि नै सक्रिय रहँदै आएका एक कांग्रेस नेताले चितवन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिका लागि आफ्नो आकांक्षा अघि सारेका छन्। पार्टी संगठनलाई जनतासँग अझ नजिक जोड्ने, युवाको सहभागिता बढाउने र अग्रजहरूको अनुभवलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यसहित उनले आफ्नो राजनीतिक प्राथमिकता सार्वजनिक गरेका हुन्।
नेपाली कांग्रेस वडा नं. २ मा दुई पटक बूथ सभापति तथा वडा सभापतिको जिम्मेवारी सम्हालिसकेको अनुभव रहेको बताउँदै उनले लामो समय संगठनको तल्लो तहमा रहेर काम गर्दा कार्यकर्ता र जनताका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताए। टोल, वडा तथा नगर तहमा समस्या पर्दा अग्रपंक्तिमा रहेर काम गरेको अनुभवले संगठन पद र संरचनाभन्दा पनि जनताको सुख–दुःखमा साथ दिने माध्यम भएको उनको बुझाइ छ।
उनले अबको कांग्रेसले युवाको ऊर्जा र नयाँ सोचलाई अग्रजहरूको अनुभव, संघर्ष तथा योगदानसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाली कांग्रेसको लोकतान्त्रिक संघर्ष, इतिहास र सामाजिक–राजनीतिक योगदानलाई आधार बनाउँदै उनले “युवाले नेतृत्व पाएपछि उनीहरूले कस्तो कांग्रेस बनाउँछन्?” भन्ने प्रश्नलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण विषयका रूपमा अघि सारेका छन्।
क्षेत्रीय सभापतिको आकांक्षाका रूपमा उनको प्राथमिकता टोलदेखि क्षेत्रीय तहसम्म पार्टी संगठनलाई थप सुदृढ, जनमुखी, समावेशी र उत्तरदायी बनाउने रहेको छ। उनका अनुसार कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनका रूपमा नभई जनताको दैनिक जीवनसँग जोडिने र निरन्तर जनताका मुद्दामा काम गर्ने संस्थाका रूपमा विकास गर्न आवश्यक छ।
विशेषगरी इच्छाकामना र कालिकालाई भरतपुरसँग राजनीतिक, सामाजिक, स्वास्थ्य तथा विकासका सवालमा अझ मजबुत रूपमा जोड्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। भौगोलिक रूपमा केन्द्रबाट टाढा रहेका तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका समुदायका समस्या र आवाजलाई क्षेत्रीय हुँदै केन्द्रीय तहसम्म पुर्याउन संस्थागत पहल आवश्यक रहेको उनको भनाइ छ।
स्वास्थ्य, शिक्षा, सडक, रोजगारी, सामाजिक सुरक्षा, कृषि तथा आधारभूत सेवासम्बन्धी समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय तहका आवाजलाई निर्णय प्रक्रियासम्म पुर्याउने बताएका छन्।
“राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने जिम्मेवारी हो,” उनले भने। अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र नयाँ पुस्ताको अपेक्षालाई समेट्दै चितवन क्षेत्र नं. २ मा कांग्रेसलाई अझ जीवन्त, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठन बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए।








