चितवन । लगातारको वर्षासँगै जिल्लाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेपछि चितवनका विभिन्न क्षेत्रमा बाढी तथा डुबानको समस्या देखिएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा २२७ घर प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनको विवरणअनुसार खैरहनी नगरपालिका–६ मा पम्मा खोला, राप्ती खोला, कैयर खोला र लदरी खोलामा पानीको बहाव बढेको छ। भरतपुर महानगरपालिका–२६ गुब्जाचौर–झनझने तथा भरतपुर–२७ शारदानगर क्षेत्रमा नारायणी नदीको पानी बस्तीमा छिर्न थालेको छ।
माडी नगरपालिका क्षेत्रमा रिउ खोलाको पानी बढ्दा सेरवा, अभिलिया र चन्द्रपुरी बस्ती प्रभावित भएका छन्। माडी–८ प्याउलीमा पानीको सतह बढेर बस्तीमा छिर्न थालेपछि केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। माडी–७ मा पनि स्थानीयलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
भरतपुर–९ उ.वा. संघनजिक नारायणी नदीको पानी बस्तीमा छिर्न थालेपछि प्रभावित परिवारलाई आफन्तको घरमा सारिएको छ। भरतपुर–२६ झनझने क्षेत्रमा समेत डुबानको अवस्था देखिएको छ। झनझने क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरू समेत डुबानमा परेका छन्। प्रभावित परिवारमध्ये केहीलाई स्थानीय विद्यालय तथा अन्य सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ।
त्यस्तै, रत्ननगर नगरपालिका–९ लालपर्सीमा घरभित्र पानी पसेर १० घरपरिवार प्रभावित भएका छन्। भरतपुर महानगरपालिका–६ बुद्धचोकस्थित नेपाल हाडवेयर कन्सर्नको गोदाममा पानी पस्दा टायल तथा सेनेटरी सामग्रीमा क्षति पुगेको विवरणमा उल्लेख छ।bade
प्रहरीको विवरणअनुसार बाढी तथा डुबानबाट प्रभावित घरको कुल संख्या २२७ रहेको छ।








