चितवन । भरतपुर महानगरपालिका–२५, फलेनीमा जंगली गैंडाको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। मर्निङवाकका लागि घरबाट निस्किएका ४२ वर्षीय भक्तबहादुर घलेलाई आज बिहान अचानक जंगली गैंडाले आक्रमण गरेको हो।
स्थानीयका अनुसार बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका घलेमाथि एक्कासी गैंडा जाइलागेको थियो। गैंडाको आक्रमणबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। घटनापछि स्थानीयवासी तथा अन्य व्यक्तिको सहयोगमा घाइते घलेलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो।
हाल घलेको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण चिकित्सकबाट प्राप्त हुन बाँकी रहेको जनाइएको छ।
घटनापछि फलेनी तथा आसपासका क्षेत्रमा स्थानीयवासी त्रसित भएका छन्। वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा विशेषगरी बिहान र साँझको समयमा हिँडडुल गर्दा सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।
जंगली जनावरको गतिविधि बढ्न सक्ने भएकाले सम्बन्धित निकायले घटनास्थल आसपासको अवस्था निगरानीमा राख्दै स्थानीयवासीको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।








