चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा बलेरोमा सवार नौ जना र चालकसहित १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई अन्य घाइतेसँगै उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा दिउँसो २ः३९ बजे मृत्यु भएको हो।
दुर्घटनामा कालिका–३ की ५२ वर्षीया सावित्री माझी, ३५ वर्षीया सितामाया श्रेष्ठ, २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा विक र ४२ वर्षीया लाल कुमारी गुम्बा घाइते भएका छन्। त्यस्तै कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ पनि घाइते भएकी छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उमा वाईवाको टाउकोमा चोट लागेको बताइएको छ।
बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले ट्याक्टर, बलेरो तथा ट्याक्टर चालक कालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








