चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३१० जना सहायक प्रहरी निरीक्षक (असई) दीक्षित भएका छन्। बुधबार आयोजित सहायक प्रहरी निरीक्षक आधारभूत तालिम–२ को १८०औँ समूहको दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले प्रशिक्षार्थीहरूलाई दीक्षित गराउँदै नागरिक सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए। उनले कार्यक्षेत्रमा खटिँदा सहानुभूति, बफादारी, धैर्यता, सहनशीलता, संवेदनशीलता, अनुशासन, इमान्दारिता, आदेशको पालना तथा शारीरिक र मानसिक तन्दुरुस्तीलाई आत्मसात् गर्न आग्रह गरे।
तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई जुनसुकै परिस्थितिमा सेवा प्रवाहमा प्रयोग गर्नुपर्ने बताउँदै एआईजी अधिकारीले दीक्षान्त समारोहमा लिएको शपथलाई जीवनभर व्यावसायिक मार्गदर्शक बनाउन सुझाव दिए। उनले संगठनको गरिमा र मर्यादालाई सर्वोच्च प्राथमिकतामा राख्दै नागरिकको भरोसायोग्य प्रहरी बन्नुपर्नेमा जोड दिए।
‘जहाँ जटिलता छ, त्यहाँ समाधान बन्नुहोस्, जहाँ डर छ, त्यहाँ साहस बन्नुहोस् र जहाँ अन्याय छ, त्यहाँ कानुनको पक्षमा उभिनुहोस्,’ उनले भने, ‘जहाँ नागरिकलाई प्रहरीको आवश्यकता छ, त्यहाँ भरोसायोग्य प्रहरीका रूपमा उपस्थित हुनुहोस्।’
नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले जुनियर प्रहरी अधिकृतहरू संगठनका मेरुदण्ड भएकाले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिन्।
नेपाल प्रहरी शिक्षालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार २७० दिनसम्म सञ्चालन भएको तालिममा ३१० जना सहभागी थिए। दीक्षित सबै असईलाई बुधबारदेखि नै कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए।
दीक्षान्त समारोहपछि आफन्तहरूले नवदीक्षित प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिएका थिए। आफ्ना सन्तान प्रहरी सेवामा प्रवेश गरेको खुसीमा कतिपय अभिभावक भावुक बनेका थिए।








