दार्चुला । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीठोलगायत खाद्यान्न सहज भएपनि पहाडी जिल्लामा लकडाउनको असर पर्न थालेको हो ।
गरिबी मापनमा सबैभन्दा पुछारमा रहेको सुदूरपश्चिमका विकट पहाडी जिल्ला बाजुरामा माग अनुसार व्यापारीले तराईबाट सामान पाउन सकिरहेका छैनन् । “व्यापारी र खाद्य संस्थानले माग गरे अनुसार तलबाटै खाद्यान्न पठाएका छैनन्”, बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, “जिल्ला खाद्य सामग्री अभाव नरेहपनि अपुगको अवस्था हो ।” उनले जिल्लामा अझै एक महिनासम्म खाद्य सामग्रीको अभाव नहुने दाबी गरे । “दैनिक उपभोग्य सामग्रीको वितरणमा कालोबजारी रोक्न स्थानीय प्रशासनले दैनिक बजार अनुगमन गर्दैछ”, उनले भने, “यस्तो महामारीको त्रासका बेला कालोबजारी गर्ने कसैलाई छुट छैन ।” बाजुरामा सामान्य अवस्थामा पनि वर्षभरि खान पुग्ने जनसंख्या साढे चार प्रतिशत मात्रै रहेको बताइन्छ ।








