काठमाडौँ । करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगर गाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् ।
आन्दोलन गरेपछि उखुको पैसा पाइएला र त्यसमै थपथाप गरेर बैंकको कर्जा तिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिने सूचना निकालेको खबर मिल्यो ।
केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा र बटैयामा लिएको २ बिघा जमिनमा उखु खेती गर्थे । त्यहीबेला उनले खेती गर्न र घरखर्च टार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठा जमिन धितो राखेर कृषि विकास बैंकबाट ९ लाख ५५ हजार रुपैयाँ कर्जा लिए । बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगर मिल्समा लगेर बेचे । ‘गाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय र ज्वाइँ रामबाबु रायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने ।
साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन । तर उनले करिब ३ लाख रुपैयाँ चिनी मिलबाट पाउन बाँकी रहेको दाबी गरे । बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवको आँखाबाट आँसु रोकिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।








