एजेन्सी । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स १० रनले पराजित भएको छ । सोमबार ब्लन्डस्टोन एरेनामा भएको खेलमा हरिकेन्स मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो । मेलबर्न स्टार्सले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको हरिकेन्स १ सय ७३ रनमै समेटियो ।
हरिकेन्सका लागि बेन एमसीर्डिमोटले ९१, दाविड मलनले २६ र पिटर ह्यान्डस्कोपले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । मेलबर्नका साम रेनबर्ड, एडम जाम्पा र बेनी स्टेनलेकले क्रमश: २ , १, १ विकेट लिए । यसअघि ब्याटिङ गरेको मेलबर्नका लागि मार्कुस स्टोनिसले सर्वाधिक ९७ रन बनाए । यस्तै, हिल्टन कार्टराइटले ३६ रन बनाउँदा निकोलस पुरनले २६ रन बनाए ।
हरिकेन्सका नाथन इल्लिसले सर्वाधिक ३ विकेट लिए भने रिले मेरिडिथले २ र सन्दीपले एक विकेट लिए । जितसँगै मेलबर्न चाैथाे स्थानमा उक्लिएको छ भने हरिकेन्स तेस्रो स्थानमा यथावत् छ ।








