कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा अहिले ५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । तर उनीहरुमध्ये चार जनामा कुनै लक्षण नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
कोरोना संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।तर सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा उपचार गरिरहेकाहरुमा १० दिन बितिसक्दा कोरोना संक्रमणको लक्षण नदेखिएको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
सोमबार बिहान अस्पतालमा भर्ना भएकी कैलालीको लम्कीचुहा नगरपालिका १ कि ६५ बर्षीया बृद्धामा पनि कुनै लक्षण नदेखिएको अस्पतालका प्रवक्ता तथा आकस्मिक विभागका प्रमुख डा. जगदिश जोशीले बताए ।
‘अस्पतालमा उपचाररत अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन’ उनले भने, ‘हिजो भर्ना भएकी महिलामा पनि उच्च रक्तचाप (प्रेसर) छ अरु केही समस्या छैन ।’वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पताल भर्ना भएकी महिला विगत देखिनै प्रेसरको रोगी भएको बताए । ‘अन्यमा केही लक्षण छैन’ उनले भने ‘ती बृद्धा पनि पहिले देखिकै प्रेसरको रोगी भएको बुझिएको छ ।’
सुदूरपश्चिम प्रदेशमा पहिलो संक्रमण देखिएका धनगढी ५ का ३४ बर्षका युवकलाई भने अहिले पनि सामान्य खोकी लाग्ने गरेको डा.कमरले बताए ।
‘पहिलो संक्रमितलाई अहिले पनि सामान्य खोकी लाग्छ । बेलाबेलामा पखाला समेत लागिरहेको छ’ उनले भने ‘अरुलाई केही भएको छैन ।’
धनगढीका युवकलाई सामान्य लक्षण देखिए पनि उनीबाट संक्रमित भएकी उनको परिवारका सदस्य महिलामा भने त्यो लक्षण पनि छैन ।
कोरोना संक्रमित कैलाली लम्की चुहाका २१ बर्षका युवक र कञ्चनपुर बेटकोटका ४१ बर्षका पुरुषमा पनि अहिले कुनै समस्या र कोरोनाको लक्षण नरहेको डा. कमरले बताए ।








