आँबुखैरेनी । प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको कांग्रेसले आज तनहुँको आँबुखैरेनी सहित तनहुँका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । तर केन्द्रीय समितिको पुष २७ को बैठक र देशैभर तय कार्यक्रमका कारण केन्द्रीय नेताको भने कमजोर उपस्थिती रहने देखिएको छ । तनहुँमा प्रदेश निर्वाचन क्षेत्र १ (१) को बाईसजाँघर र १ (२) को आँबुखैरेनीमा सभा हुनेछ ।
यसैगरी २ (१) खैरेनीटार तथा २ (२)को घिरिङ देउरालीमा सभा तय गरिएको छ । आँबुखैरेनी आज हुने सभालाई जिल्ला सभापति बैकुण्ठ न्यौपानेले प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्ने नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले जानकारी दिनुभयो। यस्तै आँबुखैरेनीको सभामा कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकैछिन भएपनि सम्बोन्धन गर्ने तय भएको उहाँले बताउनुभयो। बाइसजाँघरमा हुने सभालाई केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गर्नेछन् ।
खैरेनीटारको सभामा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गर्ने तय भएको छ । अन्य सभाहरुमा भने जिल्लास्तर र क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसका कार्यालय सचिव राजेन्द्र अर्यालले जानकारी दिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भन्दै कांग्रेसले जिल्ला, क्षेत्र नगर र वडातहसम्म विरोध कार्यक्रम लैजाने निर्णय गरेको थियो ।








