बुटवल । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि प्रदेश ५, प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई फिर्ता गरेको छ ।
प्रदेश सभा सचिवालयले मंगलबार आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।प्रदेश सभाका लागि चालु आर्थिक वर्षमा ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेको र अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
प्रदेश सभा सचिवालयले यसअघि सभामुख पुर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार क्रमशः ७, ५ र ३ दिनको तलब गरी एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ प्रदेश सरकारले स्थापना गरेको प्रदेश प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरेको थियो ।








