चितवन । सवारीसाधन दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ गुणाले कमी आएको छ । फागुनको तुलनामा चैतमा दुर्घटनामा ज्यान गुमाउने संख्यामा कमी आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका थिए । अहिले यो संख्या घटेर ३ मा पुगेको छ । यस्तै सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा पनि कमी आएको छ । फागुनमा सवारीसाधन दुर्घटनामा परेर १४ जना सख्त घाइते भएका थिए भने चैतमा ८ जना मात्र घाइते भएका छन् । कार्यालय प्रमुख दयाकृष्ण भट्टका अनुसार लकडाउनका कारण अत्याबश्यक सवारीसाधनबाहेक अन्य नचलेकाले दुर्घटनामा कमी आएको हो । “सडक पनि सुनसान छन्, अन्य समयभन्दा अहिले बढी निगरानी पनि छ,” उनले भने ।
चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा सवारीसाधन दुर्घटनामा परेर ९६ जनाको मृत्यु र १४५ जना सख्त घाइते भएको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।








