काठमाडौँ । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार लिभरपुल र म्यानचेष्टर युनाइटेड चौथो चरणमा खेल्ने भएका छन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । सर्वाधिक तथा साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । आर्सनलले १४ पटक उपाधि जितेको छ । यस्तै, म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा चेल्सीले लुटोनसँग खेल्नेछ । स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ । टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ । एभरटनले दोस्रो श्रेणीको शेफिल्ड वेन्सडे तथा लेस्टर सिटीले दोस्रो श्रेणीकै ब्रेन्टफवर्डसँग प्रतिस्पर्धा गर्नेछ । फुलहमले बर्नलीसँग खेल्नेछ । चौथो चरणका खेलहरु जनवरी २३ र २४ मा खेलाइनेछ ।








