काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा मार्सेलीलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि हात पारेको हो ।
खेलको ३९ औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा ८५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८९ औं मिनेटमा मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काए पनि उपाधिका लागि पर्याप्त बनेन । यससँगै पीएसजीले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपको उपाधि जित्न सफल भएको छ ।
पिएसजी प्रशिक्षक माउरिसियो पोचेटिनोले नियुक्त भएको तेस्रो खेलमा नै उपाधि जितेका छन् । यो उनको प्रशिक्षण करिअरको पहिलो ट्रफी समेत हो ।








