काठमाडौँ । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टाइब्रेकरमा रियल सोसिडाडलाई ३ –२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको ३९ औं मिनेटमा फ्रेन्की डे जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । तर, ५१ औं मिनेटमा सोसिडाडका मिकेल ओयाराज्बालले गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीबाट निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे भने डी जोङ र एन्टोनियो ग्रिजम्यानले गोल गर्न सकेनन् । यस्तै, सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे । तर, ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेले गोल गर्न असफल भए । बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ ।








