एजेन्सी । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प यही जनवरी २० बाट राष्ट्रपति पदबाट स्वत हट्ने छन् । त्यसअघिको दुई हप्ता ट्रम्पको लागि निकै खराब दिन बन्यो । उनले सामाजिक सञ्जालदेखि महाभियोगसम्मको सामना गर्नुपरेको छ । सामाजिक सञ्जाल फेसबुक र भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले ट्रम्पलाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथ नलिएसम्मका लागि प्रतिबन्ध लगाएको छ भने ट्विटरले स्थायी रुपमा नै प्रतिबन्ध लगाएको छ । यस्तै, महाभियोग अमेरिकाको तल्लो सदनबाट पास भैसकेको छ भने माथिल्लो सदनमा पेश गर्ने तयारीमा सिनेटरहरु रहेका छन् ।
ट्रम्पविरुद्ध किन लगाइयाे महाभियोग ?
अमेरिकी क्यापिटल भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेपछि ट्रम्पकै पार्टी रिपब्लिकन पार्टीका नेताहरु समर्थन र विरोधमा विभाजित भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ सर्वेक्षणमा यो कदमले रिपब्लिकन पार्टीलाई ठुलो नोक्सान गर्नेछ ।
अमेरिकाको तल्लो सदनमा ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमा रिपब्लिकनका १० सिनेटरले समर्थन गरेका छन् । जुन माथिल्लो सदनमा पेश हुँदैछ ।
जसमा ट्रम्पमाथि आरोपमा लगाइएको छ की उनकै भाषणको उक्साहटमा ६ जनवरीमा समर्थकहरुले क्यापिटल भवनमा आक्रमण गरिएको हो । त्यसक्रम एक महिला, एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।
उक्त आक्रमण अमेरिकी कंग्रेसको बैठक बसिरहेको बेला भएको थियो । जुन नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको औपचारिक जीत पुष्टि गर्ने तयारीमा रहेको थियो ।
ट्रम्पका समर्थकले गरेको आक्रमणले ह्वाइट हाउसका कर्मचारीले समेत ट्रम्पको साथ छोडे । ह्वाइट हाउसका डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर म्याट पोटिङ्गर, प्रथम महिला मिलानिया ट्रम्पकी चिफ अफ स्टाफ तथा ट्रम्पकी पूर्व प्रवक्ता स्टेफानी ग्रिसह्याम र ह्वाइट हाउस सोसल सेक्रेटरी रिकी निसेता पदबाट राजीनामा समेत दिए ।
अमेरिकी संसदभित्रै गोली चल्नु र संसदभित्रै हुलदंगा हुनुलाई विश्वभरका नेताले लोकतन्त्रविरुद्धको कार्य भएको भन्दै ट्रम्पको चर्को आलोचना गरे ।
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा ट्रम्पको बिरूद्ध महाभियोग प्रस्ताव २३२-१९७ ले पारित भयो। यद्यपि, ट्रम्पले पहिलो पटक महाभियोग सामना गरेको भने होइन, यसअघि पनि ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव भएको थियो । त्यसै पनि ट्रम्प जनवरी २० देखि स्वत पदमुक्त हुँदैछन् ।
माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले तत्काल महाभियोग सुनुवाइमा लाने प्रस्ताव खारेज गरिदिएका छन्। किनकि ट्रम्पले कार्यालय छाड्नुअघि महाभियोग प्रक्रिया पूरा हुने सम्भावना नरहेको उनको भनाइ छ।
तर, ट्रम्प ह्वाइट हाउसबाट बिदा भए पनि सिनेटले महाभियोगमा दोषी ठहर गरेका खण्डमा उनलाई फेरि चुनाव लड्न नपाउने गरी प्रतिबन्ध पनि लाग्न सक्छ। सिनेटमा यस विषयमा पनि मतदान हुन सक्छ कि ट्रम्प अब कहिले राष्ट्रपति हुन नपाउन्। किनकि ट्रम्पले संकेत गरिसकेका छन्, ‘उनी सन् २०२४ मा फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।’
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा सिनेटमा महाभियोग प्रक्रिया र संसद्का काम दुवै सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन्। महाभियोगका कारण कारण संसद्का काम कारबाही नरोकियुन् भन्नेमा विचार गर्नुपर्ने उनको भनाइ छ।
बिडेन भन्छन्, ‘महाभियोगको प्रक्रियाका कारण सरकारको काम रोकिनु हुँदैन। बिडेन सत्तामा आएपछि पनि ट्रम्प विरूद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्नेछ।’
‘मलाई आशा छ कि सेनेट नेतृत्वले महाभियोगको संवैधानिक जिम्मेवारी र सरकारको कामकाज सँगसँगै अघि बढाउन केही उपायहरू भेट्टाउनेछ। ट्रम्पले चुनावमा अझै हार मानेका छैनन्।’ बिडेनले भने ।
ट्रम्पले चुनावी परिणाममा धाँधली भएको झुटा आरोप लगाउँदै आइरहेका छन् । क्यापिटल भवनमा हमला गर्नु अघि ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधनमा गर्दै भनेका थिए, ‘चुनावी परिणाममा धाँधली भएको छ र यसलाई फिर्ता लिनु पर्छ। हामीले सामर्थ्य देखाउनु पर्छ। हामीले झगडा गर्नुपर्नेछ र धेरै फरक तरिकाले लड्नुपर्नेछ। ‘ यही भाषणको कारण क्यापिटल भवनमाथि आक्रमण भएको धेरैको बुझाई छ ।
रिपब्लिकन पार्टीबाट ट्रम्पलाई साथ नदिनेमा १० लिज चेनी, एडम किन्जिगर, जोन काट्को, एन्थोनी गोन्जालेज, टम राइस, ड्यान न्यूहाउस, जेम हेरेरा बटलर, फ्रेड अप्टन, डेभिड भालादव, पीटर मइजर छन् ।
उनीहरु ट्रम्पकै कारण अमेरिकाले महामारी नियन्त्रण गर्न नसकेको, लोकतन्त्रमाथि हमला भएको बताउँछन् । ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमा समर्थन गर्ने किन्जिगर भन्छन्, ‘हाम्रो प्रजातन्त्रको प्रतीक संसद भवनमा एक हप्ता पहिले हामीले देखेको हिंसात्मक विद्रोहको सम्झना गर्नु मेरो निम्ति जिवनकै खराब क्षण हो। मैले महाभियोगमा प्रस्तावमा समर्थन गरेँ ताकी म आफैंमा शान्ति महसुस गर्नसकूँ ।’ बीबीसीबाट








