चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको चितुवा बस्तीमा पसेपछि यसलाई पुनः नियन्त्रणमा लिई निकुञ्जमै छाडिएको छ ।
बटुक दल गणका प्रमुख सेनानी अरुण श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर चितुवा राप्ती नगरपालिका इचर्नीस्थित सुकुम्बासी बस्तीमा पसेको थियो । घरभित्र पसेको चितुवालाई स्थानीयले खबर गरेपछि सेनाको टोलीले उद्धार गरेको हो ।चितुवा घरभित्र पसे पनि कुनै मानवीय क्षति नभएको श्रेष्ठले जानकारी दिए । “चितुवा त्यस्तै ५, ६ महिनाको भएर होला यसले आक्रमण गरेन,” उनले भने, “खबर पाउनासाथ हामीले डार्ट गरी नियन्त्रणमा लिएका हौं ।” अहिले चितुवालाई पुनः निकुञ्जमा लगेर छाडिएको श्रेष्ठले बताए ।








