चितवन । भरतपुर अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालन गर्न लागेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पतालमा माघ सात गतेदेखि स्याटेलाईट क्लिनिक सेवा सञ्चालन गर्न लागेको हो । केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुको स्याटेलाईट क्लिनिक सञ्चालन सम्वन्धि निर्देशिका अनुसार सेवा सञ्चालन गर्न लागिएको भरतपुर अस्पतालका स्याटेलाईट क्लिनिक संयोजक डा.युवानिधि बर्सौलाले जानकारी दिए ।
विशेषज्ञ स्वास्थ्य सेवा गाउँघरसम्म पु¥याउनका लागि सरकारले स्याटेलाइट क्लिनिकको अवधारणा ल्याएको हो । सोही अनुरुप भरतपुर अस्पतालले ६ महिनाका लागि मध्यविन्दु अस्पतालसंग सम्झौता गरेर सेवा सञ्चालन गर्न लागेको डा. बर्सौलाले जानकारी दिए । “विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा केन्द्रीय अस्पतालले स्याटेलाईट क्लिनिक सञ्चालन गर्नुपर्ने हुन्छ”, उनले भने, “स्वास्थ्य विभागले हामीलाई गण्डकी प्रदेशको मध्यविन्दुमा सेवा सञ्चालन गर्न तोकेर निर्देशन निर्देशन दिएको छ ।”
सेवा सञ्चालन भएपछि गरिव जनताले विशेषज्ञ सेवा गाउँघरमा पाउने विश्वास उनको छ । दुई अस्पताल बिच माघ १ गतेदेखि असार मसान्तसम्म सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार प्रत्येक बुधवार भरतपुर अस्पतालका एउटा विधाका विशेषज्ञ चिकित्सकको टोलीले मध्यविन्दु अस्पताल पुगेर सेवा सञ्चालन गर्ने छन् ।
डा. बर्सौलाका अनुसार, आलोपालो १० वटा विधाका विशेषज्ञ चिकित्सकको टोली मध्यविन्दु अस्पतालमा जानेछन् । सेवा सञ्चालनका लागि भरतपुर अस्पतालले जनशक्तिलाई यातायात र खाजा खर्चको लागि आवश्यक व्यवस्था गर्नेछ । तर, क्लिनिक सञ्चालनका लागि आवश्यक व्यवस्थापनको जिम्मेवारी मध्यविन्दु अस्पतालले लिनुपर्ने डा. बर्सौलाले जानकारी दिए ।








