काठमाडौँ । प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहममाथि १–० को कठिन जित निकालेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा चेल्सीले गोल गर्न सफल भयो । ४४औं मिनेटमा घरेलु टोली फुलहम १० खेलाडीमा समेटिएको थियो ।
खराब ट्याकल गरेपछि एन्टोनी रविन्सन रातो कार्ड खादै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए । मासन माउन्टले खेलको ७८औँ मिनेटमा गरेको गोल नै चेल्सीको जितका लागि निर्णायक बन्यो । यो जितसँगै चेल्सी १८ खेलबाट २९ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । पराजित फुलहम १७ खेलबाट १२ अंक जोडेर १८औं स्थानमा रहेको छ ।








