काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान कृष्ण कार्कीले अविजित रहदै ४० रन जोडे । यस्तै देव खनालले ४९ रन जोड्दा सन्दीप रजालीले ४० रन जोडे । पुलिसका राशिद खान र पवन सर्राफले २/२ विकेट लिए । यसअघि ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।
पुलिसका लागि सुनिल धमलाले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाउने क्रममा सुनिलले १ सय ४ रन जोडे । दिपेन्द्र सिंह ऐरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २९ रन बनाए ।
लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक/एक विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा रहेको छ ।








