गैँडाकोट । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाले बाटोमा पैदल हिँड्ने बटुवाहरूलाई खाना र खाजा नखुवाउन आग्रह गरेको छ। रोगको जोखिम उच्च हुने भन्दै आज नगरपालिकाले सूचना जारी गरेरै गैँडाकोट नगरपालिका क्षेत्रभित्र घर जान हिँडेका कसैलाई पनि बाटोमा रोकेर खाना र खाजा नखुवाउन आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘लामो दुरीका बटुवाहरूलाई विभिन्न स्थानबाट खाना÷खाजा खुवाउनु मानवीय सेवाका दृष्टिकोणबाट असल कार्य हुँदाहुँदै पनि वर्तमान संकटको घडीमा यसबाट रोगको संक्रमण फैलिने जोखिम उच्च हुने भएको हुँदा गैँडाकोट नगरपालिका क्षेत्रभित्रका केनै पनि स्थानबाट कसैले बटुवाहरूलाई खाना, खाजा, पानीलगायतका उपभोग्य वस्तु वितरण नगर्नु नगराउनुहुन यो सूचना प्रकाशित गरिएको छ।’
आजसम्म राहत वितरण तथा खाना र खाजाको व्यवस्था गरेका व्यक्ति वा संघसंस्थालाई नगरपालिकाले धन्यवादसमेत दिएको छ। साथै लकडाउनको समयमा समस्यामा परेका स्थानीयलाई राहत वितरणको लागि एकद्वार प्रणालीमार्फत वितरण गरिदिन पनि नगरपालिकाले आग्र गरेको छ।








