काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले स्तब्ध बनेको हो । घरेलु मैदानमा भएको खेलको सुरुमै रियललाई झट्का लागेको थियो । नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।
तर, खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए । ६४ औं मिनेटमा लेभान्टेका रोजरले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिवाओट कोर्टुवाले रोके । त्यसपछि ७८ औं मिनेटमा रोजर्सले नै गोल गर्दै लेभान्टेलाई २-१ को पुनरागमन जित दिलाए ।
यो हारसँगै साविक विजेता रियलको उपाधि दौडमा गम्भिर धक्का लागेको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा रियल ७ अंकले पछि छ । अझ एट्लेटिकोले २ खेल कम खेलेको छ । लेभान्टे भने २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।








