हेटौंडा । हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा फाईनल प्रवेशका लागि आज आयोजक टिम एफसी विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच खेल हुने भएको छ ।
दोस्रो सेमिफाईनल खेलमा आज आयोजक विजय युथ र बागमती युवा क्लब खेल्न लागेका हुन् । खेल दिउँसो २ बजे हुने आयोेजक विजय युथ क्लबले जनाएको छ । बाई पाएको आयोजक टिम एफसी विजय युथ क्लबले आईतबार सर्लाही जिल्ला फुटबल संघलाई हराउँदै सेमिफाईनल खेलको लागि स्थान बनाएको थियो ।
यसैगरि बाई पाएको बागमती युवा क्लब सर्लाहीले सोमबार दुधौली स्पोर्टस क्लब,सिन्धुलीलाई हराउँदै सेमिफाईनलको लागि स्थान बनाएको थियो । आज विजय युथ र बागमती युवा क्लबबीच हुने खेलमा विजयी टिमले शुक्रबार २३ गते उपाधीका लागि सेन्ट्रल कलेज विएसी,भरतपुर संग खेल्न पाउने छ ।
मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा हर्दि युवा समाज,राप्तीलाई १-० गोल अन्तर पराजित गर्दै सेन्ट्रल कलेज फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।








