धादिङ । एक महिना बित्दा पनि लकडाउन नखुलेपछि राजधानीबाट मानिसहरु बाहिरिने क्रम बढेको छ । काठमाडौंमा डेरा गरी बस्ने पहाड तथा तराई क्षेत्रका तीन हजार भन्दा बढि मानिस गएराति बाहिरिएका छन् । विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाहरुले आफ्ना नागरिकलाई घर लैजान समन्वय गरेपछि केन्द्रिय राजधानीमा अलपत्र पर्न लागेका नागरिकहरुको उद्धार गरिएको हो । शुक्रबार राति काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै गाउँ–जिल्ला लगिएका सयभन्दा बढि बसमार्फत् तीन हजार यात्रु घर फर्किएका हुन् । यसरी घर जानेमा स–साना बालबालिकादेखि महिलाहरु पनि अधिक रहेका छन् । स्कुल कलेज पढ्ने विद्यार्थीहरु समेत लकडाउनका कारण लामो समयसम्म कोठाभित्रै बस्नु पर्दा दिक्क मानेका थिए । लकडाउनकै समयमा रातिको समयमा थुप्रै स्थानीय तहले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । यसो गरिँदा एकातर्फ नागरिकको उद्धार त भएको देखिन्छ तर कोरोना संक्रमण हुने जोखिम पनि उत्तिकै बढ्दो छ । त्यसका लागि नागरिकदेखि सम्बद्ध पक्षले निकै ध्यान दिन जरुरी छ ।








