चितवन । बीमा समितिले ल्याएको “शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम शिखर इन्स्योरेन्स कम्पनीले घुम्ति बीमा सेवा राप्ती नगरपालिका २ गड्यौलीमा रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थामा एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ ।
ग्राहकलाई घरदैलो वाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बीमा सेवा संचालन गरिएको छ । घुम्ती बिमा सेवा अन्तरगत पशुपन्छी बीमा , बालीनाली बीमा , दुर्घटना बीमा , घर बीमा र स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ ।शिखर इन्स्योरेन्स कम्पनी नारायणगढका शाखा प्रमुख चण्द्रमणी काफ्लेले
बीमाको दायरा र पहुँच शहरी क्षेत्रमा मात्र बढी भएकोले सहज ढंगले न्यूनतम लागतमा घरदैलोमा पुगी बीमा गर्ने सेवा सुरु गरिएको बताउनुभयो । उहाँले सरकारले बिमाको लागि चितवन सहित अन्य ४ जिल्लालाई अनुमति दिएको बताउनुभयो । उहाँले ग्राहकहरुको सहजताका लागि यो कार्यक्रम सुरु गरिएको पनि बताउनुभयो ।
राप्ती नगरपालिका २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले अरु खाले इन्स्योरेन्स गर्दै आईरहे पनि राज्यले ल्याएको निती अनुरुप घरदैलो बिमा स्वागत योग्य रहेको बताउनुभयो ।उहाँले इन्स्योरेन्स कम्पनीलाई किसानहरुको हितको निमित्त बिमा छिटो, छरितो सर्वसुलभ तरिकाले गर्न अनुरोध समेत गर्नुभयो । उहाँले किसानहरुलाई बालिनाली, पशुपन्छी, चौपायाको पनि बीमा गर्न आग्रह गर्नुभयो । उहाँले राज्यले लाएको पोलिसी अन्तरगत बिमा पोलिसी निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै घुम्ती बीमा सेवा महानगरपालिका वा उपमहानगरपालिका भित्र भने प्रदान नगरिने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेका शाखा संयोजक अरुण देब आचार्यले बताउनुभयो ।उहाँले घुम्ती बीमा सेवा प्रदान गर्न सवारी साधनको प्रयोग गरिनएको र सोही सवारी साधनमा आवश्यक विद्युतीय उपकरणहरु राखिएको बताउनुभयो । सवारी साधन नजाने स्थानमा नजिकको कुनै निश्चित स्थानमा बसेर घुम्ती बीमा सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
परेवाश्वरी दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामेस्वर सिंह ओलीले कागजपत्रको प्रकृया लामो तथा झन्झटिलो र खर्चालु नबनाई भुक्तानी गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । यस अभियानबाट सहकारीका २ हजार किसान लाभान्वित हुने बताउनुभयो । किसानहरुको हितको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाएकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक महानुभावहरुमा अनुरोध गर्नुभयो ।








