नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका स्थित दलदलेमा ड्युज लिग प्रतियोगिता शुरु भएको छ । देवचुली युथ क्लबले स्वर्गीय मुकेश सापकोटाको स्मृतिमा पहिलो पटक ‘टि–ट्वान्टी ड्युज लिग प्रतियोगिता–२०७७’ शुरु गरेको हो । प्रतियोगिताको देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बलिङ तथा नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले ब्याटिङ गरेर शुभारम्भ गर्नुभएको थियो ।
कुल आठ समूह सहभागी भएको प्रतियोगितामा पहिलो हुने समूहलाई रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दोश्रो हुने समूहलाई रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको म्यान अफ दी सिरिजलाई रु १० हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मङ्गलबार भएको प्रतियोगिताको पहिलो खेलमा शिव माविले जीत निकालेको छ । आयोजक देवचुली युथ क्लब विरुद्ध शवि माविले ९८ रनले जीत निकालेको हो । निर्धारित २० ओभरको खेलमा शिव माविले ११७ रन जोडेको थियो । शिव माविको लागि शरद तिवारीले सर्वाधिक २४ रन जोड्नुभयो । जवाफी ब्याटिङमा उत्रिएको आयोजक देवचुली युथ क्लबले सबै विकेट गुमाउँदै १९ रनमात्रै जोड्न सफल रह्यो । देवचुलीका लागि प्रनिश अर्यालले १३ रनको पारी खेले पनि उक्त पारी जीत निकाल्न सम्भव भएन ।
त्यस्तै प्रतियोगिता अन्तर्गत मङ्गलबारनै भएको दोस्रा खेलमा रक इलाभेन स्याङ्जा विजयी भएको छ । वेस्टर्न क्रिकेट एकेडेमी बुटवललाई नौ रनले हराउँदै रक इलाभेन विजयी भएको हो । निर्धारित खेलमा स्याङ्जाले १०० रन जोड्न सफ भयो । जवाफी ब्याटिङ गरेको वेस्टर्न क्रिकेट एकेडेमी पूरै ओभर खेल्दै ९१ रनमै समेटिन पुग्यो । स्याङ्जाका अभिषेक बस्नेतले सर्वाधिक २६ रनको पारी खेल्दै आफ्नो टिमलाई विजयी बनाउन बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । वेस्टर्नका सन्देश थापाले ३१ रन जोड्न सफल भए वेस्टर्न क्रिकेट एकेडेमीलाई हारबाट जोगाउन सकेनन् ।
आजको खेल ग्लोबल इन्टरफेस इस्टर्न र वेस्टर्न क्रिकेट एकेडेमी र दोश्रो खेल गोर्खा वारियर्स र बालबिकास क्रिकेट क्लब बीच हुने आयोजकले जनाएको छ ।








