हेटौंडा । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुप्रचौरमा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा हेटौंडाको १० र १८ नम्बर वडाले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलबाट १० ले ४ लाई र १८ ले १५ लाई हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा १० ले ४ लाई २–० गोल अन्तरले हराएको हो । १० नम्बरको तर्फबाट छैठौं मिनेटमा माजन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सूर्यमान लामाले गोल थप्दै अग्रता दोब्बर पारेका थिए ।
यस्तै दोस्रो खेलमा १५ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर १८ ले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । १८ का कृष्णबहादुर गुरागाइँले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा १५ नम्बरका खेलाडीले आफ्नै पोष्टमा गोल गरेपछि १८ ले अग्रता दोब्बर बनाएको थियो ।
वडा नम्बर १५ का ऋषिराम मोक्तानले ४३ औं मिनेटमा एक गोल फर्काएपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा १८ नम्बर वडाका डिफेन्डर अनिष रोक्का म्यान अफ द म्याच भए । बिहीबार पहिलो खेल ५ र ६ नम्बर वडाको बीचमा हुनेछ भने दोस्रो खेल ११ र १३ नम्बर वडाको बीचमा हुनेछ ।
२४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।








