काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ । आइतबार बिहान पहिलो चरणको उक्त परिमाणको खोप लिएर टर्किस एयरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका हुन् । आइतबारबाट दोस्रो चरणको खोप अभियान शुभारम्भ भएको छ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने तयारी छ ।








