काठमाडौँ । इटालियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट नै बाहिरिएको छ । गएराति भएको दोस्रो लेगको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३-२ले पराजित गरेपनि अवे गोलको आधारमा युभेन्ट्स बाहिरिएको हो ।
पहिलो लेगमा पोर्टो २-१ ले अघि बढेको थियो । पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल पनि गरेको छ । खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा युभेन्टसका फेडेरिको किएजाले गोल गर्दै खेल बराबरीमा ल्याए । ५४ औं मिनेटमा मेहेदि टेरेमीले दुई पहेलो कार्ड पाएर मैदानबाट बाहिरिएसँगै पोर्टो १० खेलाडीमा समेटिएको थियो ।
त्यसको फाइदा उठाउँदै ६३ औं मिनेटमा किएजाको व्यक्तिगत दोस्रो गोलबाट युभेन्टसले २-१ को अग्रता लियो । निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई बराबरीमा फर्काए । खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए पनि युभेन्टस बाहिरिन पुग्यो ।








