मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।मंगलबार इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् । तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ । उहाँलाई कोलोन इन्फेक्सन भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोगसँग लड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपार इच्छा शक्ति र उहाँलाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।’








