काठमाडौँ । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले जित दर्ता गरेको छ । गएराति भएको खेलमा इन्टरले टोरिनोलाई २–१ ले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा टोरिनोका एन्टेनियो सानाब्रियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर, ८५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । जितसँगै शीर्षस्थानमा रहेको इन्टरले २७ खेलबाट ६५ अंक जोडेको छ । पराजित टोरिनो २० अंक जोडेर १८औं स्थानमा छ । यस्तै, अर्को खेलमा एसी मिलान घरेलु मैदानमा नेपोलीसँग १–० ले पराजित भएको छ । जितसँगै नापोली २६ खेलमा ५० अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित मिलान २७ खेलमा ५६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।








