मेरिल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको वरिष्ठ उपाध्यक्षका दावेदार कृष्ण जीबी पन्थले बताउनु भएको छ ।
एनआरएनए एनसीसी, अमेरिकाको २०२१–२०२३ कार्यकालका लागि पन्थीले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवार दिन लाग्नु भएको हो । ‘एनआरएनएलाई समय सान्दर्भिक, पारदर्शी तथा सबै गैर आवसिय नेपालीले गर्व गर्ने साझा चौतारीको रुपमा विकास गर्ने मेरो उद्देश्य रहेको छ,’ उहाँले भन्नु भयो ।
उहाँले अगाडि भन्नु भयो ‘आम नेपालीलाई यस संस्थाको सदस्यता लिन सहजीकरण गर्नुका साथै नव प्रवेशीदेखि यहि बस्दै आउनु भएका सबै नेपालीलाई एउटै मालामा उनेर उहाँहरूको दुःख सुखमा साथ दिनुनै मेरो कर्तव्य हुनेछ भने यो कार्यलाई मैले आफ्नो जिम्मेवारी ठान्ने छु् ।’ वर्षौदेखि अनावश्यक तनाव र झमेला झेल्दै आएको यस विशुद्ध सामाजिक संस्थामा देखिएका विकृतिलाई चिर्दै जाने उहाँले बताउनु भयो ।
आफू नेपाली भएको आत्मसाथ गर्दै अमेरिकामा रहेका सबै नेपालीलाई एउटै बगैंचामा सजाउने प्रण उहाँले बताउनु भयो । यदि यहाँहरूले मलाई विश्वास गरेर उपाध्यक्षमा विजय गराउनु भयो भने मैले एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा संस्था बनाउने मात्र नभइ मातृभूमीका लागि पनि नयाँ संकल्पका साथ काम गर्ने छु ।’ ताकि हामीलाई आफ्नो जन्मभूमी फर्कदा समेत मान सम्मान र इज्जत मिलोस् ।’विकास निर्माणमा हाम्रो पनि सहभागिता देखाउने गरी काम गर्ने सोच उहाँले बनाउनु भएको छ ।
एनआरएनकै अभियन्ताका रुपमा स्थापित भइसक्नु भएका पन्थीलाई विजयी गराएमा नेपाली एनआरएनहरूले लिएको मूल मर्म र अभियानले मूर्तरुप पाउने विश्वास उहाँको छ । एनआरएनए एनसीसी अमेरिकाको २०१९ को निर्वाचनमा उहाँले अत्यधिक मत ल्याएर उपाध्यक्षको पद जित्नु भएको थियो ।








