चितवन । चितवनमा आगामी वैशाखको पहिलो साता जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाखको ३ देखि ५ गतेसम्म भरतपुरको गेस्ट हाउस चौरमा हुने भएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रतियोगिताको मिति तयार गरेको हो ।
प्रतियोगितामा एथलेटिक्सतर्फको १३ वटा विधा, कबड्डी, भलिबल तथा मार्सल आर्टस्का कराँते, तेक्वान्दो र उसुका खेलहरु समावेश हुने जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिनुभयो । सबै प्रतियोगितामा महिला र पुरुषबीच फरक फरक प्रतिस्पर्धा गराइने भन्दै ढकालले मार्सल आर्टस्का तीन वटा विधामा तीन÷तीन वटा तौल समूहमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो । सात वटै स्थानीय तहमा भएका प्रतियोगिताका विजेता खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।
ढकालकाअनुसार एकल खेलाडी प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी तथा समूहमा खेलिने प्रतियोगितामा पहिलो हुने समूहले जिल्लामा भाग लिनेछन् । चितवनमा माडी, खैरहनी र राप्ती नगरपालिकाले स्थानीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् । त्यस्तै, भरतपुर महागनरपालिकाले चैतको ११ देखि १४, इच्छाकामना गाउँपालिकाले चैतको १२ र १३, कालिका नगरपालिकाले चैतको १८ र १९ तथा रत्ननगर नगरपालिकाले चैतको २६ देखि २८ गतेसम्म प्रतियोगिता सम्पन्न गर्ने ढकालले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रह्लाद प्रधानले जिल्ला स्तरीय प्रतियोगितामा करिब ४०० खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने समूह र पहिलो हुने खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्रधानको भनाइ छ । जिल्लाबाट प्रदेशमा हुने प्रतियोगतामा एथलेटिक्सतर्फ छात्रछात्रा गरी २२, भलिबल र कबड्डीतर्फ छात्रछात्रा गरी १८÷१८ खेलाडी सहभागी हुनेछन् भने कराँते, तेक्वान्दो र उसुतर्फ छात्रछात्रा गरी ६÷६ जना खेलाडी सहभागी हुने प्रधानले बताउनुभयो ।
जिल्ला स्तरीय प्रतियोगिताको तयारी तीव्र पारिएको प्रधानको भनाइ थियो । शुक्रबार भएको बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, सशस्त्र प्रहरी बल आँपटारीका प्रहरी उपरीक्षक, जिल्ला शिक्षा तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रह्लाद प्रधानसहित विभिन्न संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








