चितवन । चितवनमा बिहीबारदेखि सुरु हुने सेन्ट्रल कलेज ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ को तयारी पुरा भएको छ । आयोजक चितवन जिल्ला फुटबल संघले आज (बुधबार) नारायणगढ स्थित क्याम्पा चौरमा पत्रकार सम्मेलन आयोजना गरी तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि मैदानको सम्पूर्ण काम पुरा भएको फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि दुई हजार क्षमताको साधारण अस्थाई प्याराफिट तयार भएको छ । यस्तै एक सय क्षमताको छुट्टै भिआइपी प्याराफिट पनि तयार पारिएको छ । प्रतियोगितामा सहभागी हुने सबै दश टोलीको टुङ्गो लागेको छ भने खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा एक ए डिभिजन क्लब र चितवनका २ सहित १० टोली सहभागी हुनेछन् । सहभागी ए डिभिजन क्लबमा बिभागीय टोली त्रिभुवन आर्मी क्लब रहेको छ भने चितवनको सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएसफी) र हानामी एभरेष्ट क्लब गरी दुई टोली सहभागी हुनेछन् ।
यस्तै नुवाकोट युनाइटेड एफसी, फर्साटिकर एफसी रुपन्देही, मकवानपुर ११, लेखनाथ युनाइटेड कास्की, बागमती युवा क्लब सर्लाही, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन र अभिषेक चर्च रजहर सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समुहमा बाँडिएको छ । समुह ‘ए’ मा बीएससी, नुवाकोट, त्रिभुवन आर्मी, फर्साटिकर र मकवानपुर ११ रहेका छन् भने समुह ‘बी’ मा लेखनाथ कास्की, बागमती, एभरेष्ट क्लब, क्यामरुन र अभिषेक चर्च रहेका छन् । दुबै समुहबाट एक-एक टोली फाइनलमा प्रवेश गर्नेछ ।
सहभागी टिमहरुमा ए डिभिजन खेल्ने खेलाडीहरु समेत रहनेछन् । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन खेलमा भोलि दिउँसो ३ बजे बीएससी र नुवाकोट भिड्ने आयोजकले जनाएको छ । फाइनल खेल २१ गते हुनेछ । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगिताबाट बचेको रकम स्व फुटबलर बिजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनलाई प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगिताहरु समेत खेलेका थिए । बिजयको श्रीमती र ३४ महिनाका एक छोरा छन् ।








