एजेन्सी । बेलायती पूर्व युवराज ह्यारी हजुरबुवा फिलीपलाई अन्तिम विदाइ गर्न घर फर्किएका छन्। राजपदवी त्यागेर अमेरिका बस्दै आएका ह्यारी फिलीपको अन्तिम संस्कारमा सहभागी हुन आइतबार ब्रिटिस एयरवेजको जहाजमार्फत् लन्डन फर्किएका हुन् ।
श्रीमती मेघन गर्भवती भएकाले एक्लै फर्किएका हुन् । लन्डनमा उनी पाँच दिन क्वारेन्टिनमा बस्नेछन्। गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलीपको निधन भएको थियो । उनका यही अप्रिल १७ मा अन्त्येष्टि गरिदैँ छ ।
स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ । कोरोनाभाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।








