चितवन । समाजमा बढ्दो महिला हिंसाविरुद्धको गीत सार्वजनिक भएको छ । नारायणगढमा मंगलवार एक कार्यक्रमकाबीच ’लुटे भन्ने आँफै लुटिन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हिंसाविरुद्धको कथा उठान गरिएको छ । गीतमा गायिका प्रिती आले मगरलाई हिंसाविरुद्ध लागि परेकी एक पात्रको रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा उनी महिना हिंसा गर्ने विरुद्ध शशक्त रुपमा प्रस्तुत भएकी छिन् । कार्यक्रममा बोल्दै भिडियोका निर्देशक सुरेश चौधरीले समाजमा बढ्दो महिला हिंसा न्युनिकरणको सन्देश दिनका लागि गीत बनाइएको बताए । गीतको माध्यमबाट महिला माथि हुने हिंसाविरुद्ध सबै शशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । रचनाकार म्याटेन कालुको शब्द रचना रहेको गीतमा प्रिती आलेले स्वर भरेकी छिन् । गीतमा भिम बिसीको संगीत तथा पुष्कर सुनुवारको संगीत संयोजन छ ।
सुरेश चौधरी निर्देशित तथा सम्पादित भिडियोका परिकल्पनाकार पनि उनी स्वयं हुन् । भिडियोमा प्रितीसँगै वृजु मिजार, सगुन चौधरी, जीवन गहतराजलगायतको अभिनय छ । गीतको भिडियोलाई अर्जुन चापागाइले खिचेका हुन् । पश्चिम चितवनको चनौली र पार्वतीपुर क्षेत्रमा भिडियो छाँयाकन गरिएको हो ।








