काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी२० वरियतामा छलाङ मारेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा भुर्तेल एकै पटक ३२ स्थान माथि उक्लिदैँ ६१ स्थानमा अटाएका छन् । हालै सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा डेब्यू गरेका भुर्तेल पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३औं स्थानमा थिए । सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी वरीयतामा समावेश भएका थिए । उनले सिरिजमा चार अर्धशतक प्रहार गरे ।
समग्रमा उनले २७८ रन बनाए । जुन सन् २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा पाँचौ स्थान हो । उनले भारतका कप्तान विराट कोहलीलाई पनि उछिनेका छन् । वरियतामा भुर्तेल शकिब अल हशन, सूर्य कुमार यादव, ऋषभ पन्त र स्टिभ स्मिथभन्दा अघि छन् ।








