जनकपुर । जनकपुर कोरोना अस्पतालमा तोडफोड गरिएको छ । चिकित्सकको लापरबाहीले कारोना संक्रमित विरामीको ज्यान गएको भन्दै मृतकका आफन्तहरुले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका हुन् ।
महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो ।
त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले गरेको तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पतालका प्रवक्ता डा. मनीष पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ ।








